मंगलबार २ असार २०८३
खेलकुद

विश्वकपमा स्पेनको निराशाजनक सुरुआत, केप भर्डेसँग गोलरहित बराबरीमा रोकियो

मंगलबार असार २, २०८३/ Tuesday 06-16-26

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा उपाधि दाबेदार स्पेनले अपेक्षित प्रदर्शन गरे पनि नवप्रवेशी केप भर्डेविरुद्ध गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको छ।

अमेरिकाको एटलान्टास्थित रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिएको हो। खेलभर स्पेनले बलमाथि पूर्ण नियन्त्रण राख्दै आक्रामक खेल प्रस्तुत गरेको थियो। ७४ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेको स्पेनले केप भर्डेको पोस्टमा लगातार दबाब सिर्जना गरे पनि गोलको खाता खोल्न सकेन।

स्पेनको जितमा सबैभन्दा ठूलो बाधक केप भर्डेका गोलकिपर भोजिन्हा बने। उनले स्पेनका आठ सट अन टार्गेटसहित थुप्रै खतरनाक अवसरलाई विफल पार्दै उत्कृष्ट प्रदर्शन गरे। भोजिन्हाकै प्रेरणादायी प्रदर्शनका कारण केप भर्डेले विश्वकप इतिहासमै महत्वपूर्ण एक अंक सुरक्षित गर्न सफल भयो।

सन् २०१० को विश्वविजेता स्पेनले प्रतियोगितामा पहिलोपटक सहभागी भएको केप भर्डेमाथि सहज जित निकाल्ने अनुमान गरिएको थियो। तर लामिन यामाल र निको विलियम्सजस्ता स्टार खेलाडी मैदानमा हुँदा पनि स्पेनले विपक्षीको रक्षा पंक्ति भेद्न सकेन।

फिफा वरियतामा तेस्रो स्थानमा रहेको स्पेन ६४औँ स्थानमा रहेको केप भर्डेसँग बराबरीमा रोकिँदा समूह चरणको प्रतिस्पर्धा थप रोचक बनेको छ। केप भर्डेका लागि भने यो नतिजा ऐतिहासिक उपलब्धिका रूपमा दर्ज भएको छ।

 

तपाईको प्रतिक्रिया