बिहीबार ४ असार २०८३
समाज

‘मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य’ : गृहमन्त्री गुरुङ

बिहीबार असार ४, २०८३/ Thursday 06-18-26

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का कारण मानवीय क्षति हुन नदिन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष बैठकलाई सम्बोधन गर्दै उनले विपद् व्यवस्थापनका सबै कार्यक्रम ‘शून्य मानवीय क्षति’ को लक्ष्यलाई केन्द्रमा राखेर सञ्चालन गर्नुपर्नेमा जोड दिए।

गृहमन्त्री गुरुङले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को उच्च जोखिम भएका क्षेत्रको समयमै पहिचान गरी प्रभावकारी पूर्वतयारी गर्न निर्देशन दिए। उनले विपद् व्यवस्थापनमा संलग्न सबै निकायबीच समन्वय, सहकार्य र एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गर्दै जनधनको क्षति न्यून गर्न सक्रिय भूमिका खेल्न आग्रह गरे।

उनले विगतमा विपद् आएपछि मात्रै उद्धार र राहतका गतिविधि सञ्चालन गर्ने प्रवृत्ति प्रभावकारी नभएको बताउँदै अब पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। “विपद् आउनुअघि नै आवश्यक तयारी, सूचना प्रवाह र सतर्कता अपनाउन सके क्षति धेरै हदसम्म कम गर्न सकिन्छ,” उनले भने।

बैठकमा गृहमन्त्रीले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका नाममा विगतमा हेलिकप्टरको दुरुपयोग भएको टिप्पणी गर्दै अब यस्तो अभ्यास रोक्ने चेतावनी दिए। उनले राहत तथा उद्धार कार्यमा प्रत्यक्ष खटिएका सुरक्षा निकायका कर्मचारीबाहेक अन्य व्यक्तिलाई विपद्को बहानामा हेलिकप्टर प्रयोग गर्न नदिने स्पष्ट पारे।

राज्यको स्रोतसाधनको दुरुपयोग रोक्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले अनधिकृत रूपमा हेलिकप्टर प्रयोग गर्ने कार्यमाथि कडाइ गरिने बताए।

उक्त बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूका साथै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा कार्यरत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया