बिहीबार ४ असार २०८३
राजनीति

रास्वपाले बढायाे पदाधिकारी र केन्द्रीय समितिको आकार, कति पुर्यायाे ?

बिहीबार असार ४, २०८३/ Thursday 06-18-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनात्मक संरचनामा व्यापक हेरफेर गर्दै पदाधिकारी र केन्द्रीय समिति दुवैको आकार विस्तार गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले विधान संशोधनमार्फत पदाधिकारीको संख्या १३ बाट बढाएर १९ पुर्‍याउने निर्णय गरेको हो। साथै, पार्टीमा पहिलो पटक ‘वरिष्ठ नेता’ पदको व्यवस्था पनि गरिने भएको छ।

नयाँ संरचनाअनुसार पार्टीमा एक सभापति, एक वरिष्ठ नेता, एक महिला अनिवार्यसहित तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहनेछन्। सहमहामन्त्री, सहप्रवक्ता तथा सहकोषाध्यक्ष पदमा महिला सहभागिता अनिवार्य गरिएको छ।

त्यस्तै, केन्द्रीय समितिको आकार पनि विस्तार गर्ने निर्णय गरिएको छ। हाल १२९ सदस्यीय रहेको केन्द्रीय समिति अब प्रदेश समिति सभापतिहरूलाई पदेन सदस्य बनाउँदै १५८ सदस्यीय हुने भएको छ।

विधान संशोधनसँगै महामन्त्रीको संख्या एकबाट दुई तथा सहमहामन्त्रीको संख्या तीनबाट पाँच पुर्‍याइएको छ। यसअघि एक महिला अनिवार्यसहित तीन सहमहामन्त्री रहने व्यवस्था थियो।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले संगठनलाई थप सुदृढ र समावेशी बनाउने उद्देश्यले यी परिवर्तनहरू गरेको जनाएको छ।

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ। महाधिवेशनअघि गरिएको यो संरचनागत परिवर्तनलाई पार्टीको भावी नेतृत्व र संगठन विस्तारसँग जोडेर हेरिएको छ।

तपाईको प्रतिक्रिया