तीन दशकपछि दोलखाका आकाश भैरवका ऐतिहासिक मुकुण्डो स्वदेश फिर्ता
काठमाडौँ । करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयमा पुगेका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मुकुण्डो अन्ततः आफ्नै समुदायमा फर्किएका छन्। बुधबार राष्ट्रिय संग्रहालय, छाउनीमा आयोजित विशेष समारोहबीच ती मुकुण्डो दोलखाका स्थानीय समुदायलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट वि.सं. २०५० र २०५१ मा चोरी भएका मुकुण्डो अमेरिकास्थित डलास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्टमा रहेको पुष्टि भएपछि तिनलाई स्वदेश फिर्ता ल्याउने प्रयास सुरु गरिएको थियो।
सम्पदा संरक्षण अभियन्ता अनिलचन्द्र श्रेष्ठले २०७४ सालको इन्द्रजात्राका क्रममा सामाजिक सञ्जालमार्फत पुराना तस्वीर सार्वजनिक गरेपछि हराएको सम्पदाबारे पुनः खोजबिन तीव्र भएको थियो। विभिन्न प्रमाण, ऐतिहासिक तस्वीर तथा अभिलेख संकलनसँगै ‘लस्ट आर्ट्स अफ नेपाल’ लगायत संस्थाको सहयोगमा मुकुण्डो अमेरिकाका संग्रहालयमा रहेको पुष्टि भएको थियो।
त्यसपछि नेपाल सम्पदा संरक्षण अभियान, नेपाल हेरिटेज रिकभरी क्याम्पेन, पुरातत्व विभाग तथा अमेरिकी निकायबीच समन्वय गरी कानुनी प्रक्रिया अघि बढाइएको थियो। आवश्यक प्रमाणका आधारमा न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले दुवै संग्रहालयबाट मुकुण्डो जफत गरी २०८० मंसिर १८ गते न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासलाई हस्तान्तरण गरेको थियो।
‘नेवास् गुठी न्यूयोर्क’ को सहयोगमा मुकुण्डो नेपाल ल्याइएपछि राष्ट्रिय संग्रहालयमा संरक्षणका लागि राखिएको थियो। बुधबार स्थानीय समुदायका सदस्यहरूले धार्मिक विधिअनुसार पूजा–आराधना गरेपछि ती ऐतिहासिक मुकुण्डो पुनःस्थापनाका लागि समुदायलाई जिम्मा लगाइएको हो।
समुदायका अनुसार अब मुकुण्डो दोलखास्थित आफ्नो मौलिक स्थानमा पुनःस्थापना गरिनेछ। यो फिर्तीलाई नेपालबाट चोरी भई विदेश पुगेका सांस्कृतिक सम्पदा स्वदेश ल्याउने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया