बिहीबार ४ असार २०८३
समाज

मकवानपुरमा नवीकरण नगरेका ४० औषधि पसल बन्द

बिहीबार असार ४, २०८३/ Thursday 06-18-26

काठमाडौँ । मकवानपुरमा नवीकरण नगरी सञ्चालनमा रहेका ४० वटा औषधि पसलमाथि प्रशासनले कारबाही गर्दै बन्द गराएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार औषधि व्यवस्था विभागले तोकेको म्यादभित्र आवश्यक प्रक्रिया पूरा नगरेका फार्मेसी, भेट फर्मा तथा आयुर्वेद औषधि पसलहरूको अनुगमनपछि उक्त कदम चालिएको हो।

प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले कानुनी रूपमा नवीकरण नगरी सञ्चालन गरिएका व्यवसायलाई तत्काल बन्द गर्न निर्देशन दिइएको जानकारी दिए। उनका अनुसार औषधि व्यवसाय सञ्चालनका लागि आवश्यक अनुमति तथा नवीकरण अनिवार्य भएकाले नियम विपरीत सञ्चालन भइरहेका पसलमाथि कारबाही गरिएको हो।

प्रशासनले औषधि व्यवस्था विभागले तोकेको मापदण्ड र कानुनी प्रक्रिया पालना गर्न सबै व्यवसायीलाई आग्रह गरेको छ। साथै, भविष्यमा पनि नियम उल्लङ्घन गर्ने व्यवसायमाथि कानुनबमोजिम कडा कारबाही जारी रहने चेतावनी दिएको छ।

अनुगमनलाई निरन्तरता दिइने र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित व्यवसायमा कानुनी व्यवस्था कडाइका साथ लागू गरिने प्रशासनको भनाइ छ।

तपाईको प्रतिक्रिया