बिहीबार ४ असार २०८३
खेलकुद

विश्वकप २०२६ : पहिलो चरण सकिँदा १५ टोली विजयी, मेस्सी शीर्ष गोलकर्ता

बिहीबार असार ४, २०८३/ Thursday 06-18-26

काठमाडौँ।  फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गत पहिलो राउण्डका सबै खेल सम्पन्न भएका छन्। पहिलो चरणको समाप्तिसँगै १५ टोलीले विजयी सुरुआत गर्दै महत्वपूर्ण तीन अंक बटुलेका छन् भने १५ टोली हार व्यहोर्न बाध्य भएका छन्। बाँकी १८ टोलीले बराबरी खेल्दै समान एक–एक अंक बाँडेका छन्।

समूह ‘ए’ मा मेक्सिको र दक्षिण कोरियाले विजयी सुरुआत गरेका छन्। चेक गणतन्त्र र दक्षिण अफ्रिका भने पहिलो खेलमै पराजित बने। समूह ‘डी’ मा आयोजक अमेरिकासहित अष्ट्रेलियाले तीन अंक जोड्दा टर्की र पाराग्वे अंकविहीन बनेका छन्।

समूह ‘ई’ मा जर्मनी र आइभोरी कोस्टले जित निकालेका छन् भने इक्वेडर र कुरासाओले हारबाट प्रतियोगिता सुरु गरेका छन्। यस्तै, समूह ‘आई’ मा नर्वे र फ्रान्स विजयी हुँदा सेनेगल र इराक निराश बनेका छन्।

साविक विजेता अर्जेन्टिनाले पनि सुखद सुरुआत गरेको छ। समूह ‘जे’ मा अर्जेन्टिना र अष्ट्रियाले जित दर्ता गर्दा अल्जेरिया र जोर्डन पराजित भएका छन्। समूह ‘एल’ मा इङ्गल्याण्ड र घानाले तीन अंक जोड्दा पानामा र क्रोएसिया हार बेहोरेका छन्।

केही समूहमा भने प्रतिस्पर्धा निकै रोचक बनेको छ। समूह ‘बी’ मा स्वीट्जरल्याण्ड, क्यानडा, कतार तथा बोस्निया एन्ड हर्जगोभिनाले बराबरी खेल्दै समान एक अंक जोडेका छन्। समूह ‘जी’ का न्युजिल्याण्ड, इरान, बेल्जियम र इजिप्ट तथा समूह ‘एच’ का स्पेन, उरुग्वे, साउदी अरेबिया र केप भर्डेका खेलहरू पनि बराबरीमा टुंगिएका छन्।

समूह ‘सी’ मा स्कटल्याण्डले जित हात पार्दा ब्राजिल र मोरक्कोले अंक बाँडेका छन् भने हैटी पराजित भएको छ। समूह ‘एफ’ मा स्वीडेन विजयी रहँदा जापान र नेदरल्याण्ड्सले बराबरी खेलेका छन्। ट्युनिसिया भने पहिलो खेलमै पराजित भएको छ।

व्यक्तिगत प्रदर्शनतर्फ अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पहिलो चरणपछि सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै तीन गोल गरेका छन् र जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।

मेस्सीपछि फ्रान्सका किलियन एम्बाप्पे र इङ्गल्याण्डका ह्यारी केनले दुई–दुई गोल गरेका छन्। नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्डले पनि डेब्यु खेलमै दुई गोल गर्दै प्रभावशाली प्रदर्शन गरेका छन्।

यस्तै, जर्मनीका काई हाभर्ट्ज, न्युजिल्याण्डका एलिजा जस्ट, स्वीडेनका यासिन अयारी र अमेरिकाका फोलारिन बालोगुनले पनि पहिलो राउण्डमै दुई–दुई गोल गर्दै आफ्नो टोलीको सफलतामा महत्वपूर्ण योगदान दिएका छन्।

 

तपाईको प्रतिक्रिया