विश्वकपमा पोर्चुगलको निराशाजनक सुरुआत, कंगोसँग १–१ को बराबरी
काठमाडौं । उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को पहिलो खेलमै प्रजातान्त्रिक गणतन्त्र कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको छ। सुरुवाती अग्रता जोगाउन नसक्दा पोर्चुगल अंक बाँड्न बाध्य बन्यो।
खेलको छैटौँ मिनेटमा जोआओ नेभेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा योआन विसाले बराबरी गोल फर्काएपछि खेल १–१ मा सकियो। सुरुवाती दबाबपछि पोर्चुगलले लय गुमाउँदा कंगोले उत्कृष्ट पुनरागमन गर्यो।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि भने खेल निराशाजनक रह्यो। गोलका केही राम्रो अवसर पाए पनि उनले त्यसलाई सदुपयोग गर्न सकेनन्। प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको गोलविहीन यात्रा अझै लम्बिएको छ।
खेलपछि सामाजिक सञ्जालमार्फत रोनाल्डोले यो आफूहरूले चाहेको सुरुवात नभए पनि अझै धेरै खेल बाँकी रहेकाले आगामी खेलमा केन्द्रित हुने बताएका छन्। यता, प्रशिक्षक रोबर्टो मार्टिनेजले पहिलो गोलपछि टोलीको तालमेल कमजोर बनेको स्वीकार गर्दै गल्ती सुधार्नुपर्ने बताएका छन्।
यस नतिजासँगै कंगोले महत्त्वपूर्ण एक अंक बटुल्दा पोर्चुगलमाथि भने आगामी खेलमा जित निकाल्ने दबाब बढेको छ।
तपाईको प्रतिक्रिया