बिहीबार ४ असार २०८३
राजनीति

राप्रपाको कार्य सम्पादन समिति बैठक सुरु

बिहीबार असार ४, २०८३/ Thursday 06-18-26

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समिति बैठक बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ।

पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीका आगामी कार्यक्रमबारे छलफल गरिनेछ। उनले शुक्रबार र शनिबार दुई दिन केन्द्रीय समिति बैठक समेत बस्ने जानकारी दिए।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, संगठनात्मक गतिविधि तथा पार्टीको भावी रणनीतिका विषयमा व्यापक समीक्षा हुने अपेक्षा गरिएको छ।

राप्रपाभित्र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि बढिरहेका बेला बैठक बसेको हो। केही दिनअघि मात्रै पार्टीका महामन्त्री धवलशमशेर राणाले नेतृत्वप्रति असन्तोष व्यक्त गर्दै पार्टीबाट अलग हुने घोषणा गरेका थिए।

राणाको बहिर्गमनपछि उत्पन्न राजनीतिक तथा संगठनात्मक अवस्थाबारे पनि बैठकमा छलफल हुने सम्भावना रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया