काठमाडौँ । डेनिज उन्दाभको इन्जुरी समयमा आएको निर्णायक गोलको मद्दतमा जर्मनीले आइभोरी कोस्टलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
टोरन्टोमा शनिबार राति सम्पन्न समूह ‘ई’ को खेलमा पहिलो हाफमा पछि परेको जर्मनीले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण जित हात पारेको हो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उन्दाभले ६८औँ मिनेटमा बराबरी गोल गरेपछि इन्जुरी समयमा अर्को गोल थप्दै टोलीलाई जित दिलाए।
आइभोरी कोस्टले पहिलो हाफमा फ्रान्कको गोलमार्फत अग्रता लिएको थियो। जर्मनीका दुई गोल रेफ्रीले विभिन्न कारण देखाउँदै रद्द गरेका थिए, जसले खेललाई थप रोमाञ्चक बनाएको थियो।
दोस्रो हाफमा जर्मनीले लगातार दबाब सिर्जना गर्दै खेलमा फर्कियो। उन्दाभले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि जुलियन नागेल्सम्यानको टोलीले महत्वपूर्ण तीन अंक बटुल्यो।
जितसँगै जर्मनीले दुई खेलबाट ६ अंक जोड्दै समूह ‘ई’ को शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा स्थान पक्का गरेको छ। आइभोरी कोस्टको भने ३ अंक रहेको छ।
अब जर्मनीले समूह चरणको अन्तिम खेलमा इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ भने आइभोरी कोस्टले कुरासाओको सामना गर्नेछ।
तपाईको प्रतिक्रिया