बाबुरामले भने- ७२ वर्षको भए सधैँ २७ वर्षको जस्तो अनुभूति भयो
चितवन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा उपस्थित युवा पुस्ताको उत्साह र ऊर्जा देखेर आफूलाई २७ वर्षको जस्तो महसुस भएको बताएका छन्।
भरतपुरमा आयोजित रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले आफू ७२ वर्षको उमेरमा पुगे पनि कार्यक्रममा सहभागी युवा नेताहरू र कार्यकर्ताको जोशले नयाँ ऊर्जा दिएको बताए।
‘म ७२ वर्षको भएँ, तर यो महाधिवेशन स्थलमा उपस्थित साथीहरूको उत्साह र ऊर्जा देख्दा आफू २७ वर्षको छु कि जस्तो लागिरहेको छ,’ उनले भने।
आफूलाई सधैं परिवर्तन र विद्रोहको पक्षमा उभिने राजनीतिक पात्रका रूपमा प्रस्तुत गर्दै भट्टराईले नयाँ राजनीतिक शक्तिहरूले नेपाली राजनीतिमा आशा र परिवर्तनको सम्भावना बोकेको धारणा राखे। उनले छोटो अवधिमै रास्वपाले हासिल गरेको जनसमर्थनलाई नेपाली राजनीतिक रूपान्तरणको महत्वपूर्ण संकेतका रूपमा व्याख्या गरे।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले केही वर्षमै जनताको विश्वास जित्दै आधुनिक प्रविधि र नयाँ सोचका आधारमा जनप्रतिनिधिहरू निर्वाचित गराउन सफल भएको छ। यो आफैंमा महत्वपूर्ण उपलब्धि हो,’ उनले बताए।
भट्टराईले राजनीतिक परिवर्तन केवल आन्दोलन र संघर्षबाट मात्र नभई जनताको विश्वास जितेर पनि सम्भव हुने उदाहरण रास्वपाले प्रस्तुत गरेको उल्लेख गरे। उनले यसलाई नेपाली राजनीतिक परिवर्तनको प्रक्रियामा एउटा महत्वपूर्ण कडीका रूपमा लिनुपर्ने बताए।
सम्बोधनका क्रममा उनले कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेको मन्तव्य सुन्न उत्सुक रहेको उल्लेख गर्दै आफ्नो भाषण छोटो राखेका थिए।
तपाईको प्रतिक्रिया