चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना हुने महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ।
महाधिवेशनमा पार्टीको भावी राजनीतिक दिशा, संगठन सुदृढीकरण तथा नयाँ नेतृत्व चयनका विषयमा व्यापक छलफल हुने बताइएको छ। उद्घाटन सत्रपछि बन्दसत्र सुरु हुनेछ, जहाँ पार्टी सभापतिको राजनीतिक प्रतिवेदन, महामन्त्रीको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ।
रास्वपाले महाधिवेशनमा देशभरबाट करिब ३ हजार ९१८ प्रतिनिधिको सहभागिता रहने जनाएको छ। जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको पार्टीले जनाएको छ।
महाधिवेशनअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधान संशोधन गर्ने निर्णयसमेत गरेको छ। प्रस्तावित संशोधनअनुसार हालको १२१ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरी १५१ सदस्यीय बनाइनेछ। साथै पदाधिकारीमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
पार्टी नेतृत्वका अनुसार महाधिवेशनले आगामी कार्यदिशा तय गर्नुका साथै संगठन विस्तार, जनसम्बन्ध मजबुत बनाउने र पार्टीलाई थप संस्थागत बनाउने लक्ष्य लिएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले यसलाई रास्वपाको राजनीतिक यात्राको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया