आइतबार ७ असार २०८३
राजनीति

रास्वपाले पाएको जनमत असाधारण छ, तर शक्ति र अहंकारको उन्मादबाट जोगिनुपर्छ : गगन थापा

आइतबार असार ७, २०८३/ Sunday 06-21-26

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको छोटो अवधिमै नेपाली राजनीतिमा उल्लेखनीय जनसमर्थन हासिल गरेको भन्दै प्रशंसा गरेका छन्।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले चार वर्षभित्रै पार्टीले प्राप्त गरेको जनमत नेपाली राजनीतिका लागि असाधारण उपलब्धि भएको बताए। उनले रास्वपाले हासिल गरेको जनविश्वास धेरै राजनीतिक दलका लागि लोभलाग्दो विषय रहेको उल्लेख गरे।

‘यति छोटो समयमा जनताबाट प्राप्त भएको समर्थन सामान्य उपलब्धि होइन। यो नेपाली राजनीतिमा दुर्लभ र महत्वपूर्ण घटना हो,’ उनले भने।

सम्बोधनका क्रममा थापाले नेपालको राजनीतिक इतिहासबाट पाठ सिक्न नयाँ राजनीतिक शक्तिहरूलाई आग्रह गरे। विगतमा पनि विभिन्न दलहरूले ठूलो जनमत प्राप्त गरे पनि नेतृत्वबीचको अहंकार, आन्तरिक द्वन्द्व र शक्तिको उन्मादका कारण ती अवसरहरू गुमेको उनले स्मरण गराए।

उनका अनुसार जनताको बलियो समर्थन पाएपछि नेताहरूले आफूलाई जनमतभन्दा माथि ठान्ने प्रवृत्ति देखाउँदा लोकतान्त्रिक अभ्यास कमजोर बन्ने र अन्ततः जनविश्वास नै क्षयीकरण हुने गरेको छ।

‘जनताले दिएको मतलाई स्थायी विश्वासमा रूपान्तरण गर्न विनम्रता, लोकतान्त्रिक संस्कार र जवाफदेहिता आवश्यक हुन्छ,’ थापाले भने।

उनले सत्ता र शक्तिको घमण्डले राजनीतिक नेतृत्वलाई अलोकतान्त्रिक व्यवहारतर्फ धकेल्ने जोखिम रहेको उल्लेख गर्दै रास्वपाले विगतका दलहरूले गरेका कमजोरीहरूबाट सिक्नुपर्नेमा जोड दिए।

थापाले रास्वपाले आगामी दिनमा नेतृत्वबीचको अहंकारको संघर्ष र सत्ताको उन्माद जस्ता चुनौतीबाट आफूलाई जोगाउँदै जनताले राखेको भरोसालाई कायम राख्न सफल होस् भन्ने शुभकामना व्यक्त गरे। साथै उनले पार्टीको प्रथम महाधिवेशनको सफलताको कामना समेत गरे।

 

तपाईको प्रतिक्रिया