काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूको अनुभवबाट सिक्दै पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
चितवनको भरतपुरमा सुरु भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी एकजुट भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति भविष्यमा नदेखिने दाबी गरे।
सभापति लामिछानेले पार्टीभित्र त्याग र बलिदानलाई बुझ्ने तरिकामा असमानता हुन सक्ने भन्दै यसप्रति सचेत रहन आग्रह गरे। उनले भने, “हामीले अहिले गुट–उपगुटतिर नलागी विगतका राजनीतिक दलका अनुभवबाट सिक्दै अघि बढ्यौँ भने रास्वपालाई चुनौती दिने शक्ति अब कसैबाट पनि आउँदैन। तर कहिलेकाहीँ त्याग र बलिदानलाई अरूले गर्दा स्वीकार गर्ने, आफूले गर्दा भने कठिन मान्ने प्रवृत्ति देखिन्छ, यसबाट सचेत रहनुपर्छ।”
उनले अरूले गरेको त्यागलाई सहज रूपमा स्वीकार गर्ने तर आफूले त्याग गर्नुपर्दा असहज मान्ने प्रवृत्ति देखिन थालेको उल्लेख गर्दै यसमा ध्यान दिनुपर्ने बताए।
लामिछानेले महाधिवेशनले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउने विश्वाससमेत व्यक्त गरे।
तपाईको प्रतिक्रिया