बुधबार १० असार २०८३
खेलकुद

हालान्डको दुई गोलमा नर्वे नकआउट चरणमा प्रवेश

मंगलबार असार ९, २०८३/ Tuesday 06-23-26

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत नर्वेले सेनेगललाई ३–२ ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

न्युजर्सीस्थित रंगशालामा बुधबार बिहान सम्पन्न समूह ‘आई’ को खेलमा नर्वेका मार्कस पेडरसन र एर्लिङ हालान्ड नायक बने। पेडरसनले एक गोल गर्दा हालान्डले दुई गोल थप्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। सेनेगलका इस्माइला सारले दुई गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

खेलको ४३औँ मिनेटमा पेडरसनले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएको तीन मिनेटमै हालान्डले गोल थपेपछि नर्वे २–० ले अघि बढ्यो।

सेनेगलले ५३औँ मिनेटमा सारको गोलमार्फत खेलमा फर्कने संकेत दिएको थियो। तर ५८औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता ३–१ मा पुर्‍याए।

खेलको इन्जुरी समयमा सारले व्यक्तिगत दोस्रो गोल गरे पनि त्यसले सेनेगलको हार टार्न सकेन। अन्ततः नर्वे ३–२ को विजयी नतिजासहित मैदानबाट बाहिरियो।

लगातार दोस्रो जित निकालेको नर्वे ६ अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा पुगेको छ। यता, लगातार दुई खेलमा पराजित भएको सेनेगल भने समूह चरणबाटै बाहिरिएको छ।

 

तपाईको प्रतिक्रिया