१००औँ खेलमा एमबाप्पेको शानदार प्रदर्शन, इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा
काठमाडौं । खराब मौसमका कारण साढे दुई घण्टासम्म प्रभावित बनेको खेलमा फ्रान्सले इराकलाई ३–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
लगातार दोस्रो जित निकालेको फ्रान्सले समूह चरणबाटै अन्तिम ३२ मा आफ्नो स्थान पक्का गरेको हो। यता, लगातार दोस्रो हार बेहोरेको इराक भने प्रतियोगिताबाट बाहिरिएको छ।
फ्रान्सको जितमा कप्तान केलियन एमबाप्पेले दुई गोल गरे भने ओसमान डेम्बेलेले एक गोल थपे। देशका लागि आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका एमबाप्पेले १४औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए।
पहिलो हाफपछि मौसम प्रतिकूल बनेकाले खेल करिब दुई घण्टासम्म रोकिएको थियो। खेल पुनः सुरु भएपछि फ्रान्सले आक्रामक खेल जारी राख्यो। ५४औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
इराकले रक्षात्मक रणनीति अपनाए पनि फ्रान्सको दबाब थेग्न सकेन। खेलको ६६औँ मिनेटमा डेम्बेलेले गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे। यो डेम्बेलेको कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो गोलसमेत हो।
यसअघि फ्रान्सले आफ्नो पहिलो खेलमा सेनेगललाई हराएको थियो भने इराक नर्वेसँग पराजित भएको थियो। लगातार दुई हारसँगै इराकको विश्वकप यात्रा समूह चरणमै टुंगिएको छ।
तपाईको प्रतिक्रिया