चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज सञ्चालन हुँदैछ। बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ७ बजेदेखि परिचयपत्र वितरण सुरु गरिएको छ।
सोमबार बिहान साढे ८ बजेदेखि सुरु गर्ने तय गरिएको बन्दसत्र प्राविधिक कारणले एक दिन पछि सारिएको थियो। पार्टीका प्रवक्ता मनिष झाले प्रतिनिधिको नामावली प्रमाणीकरण र परिचयपत्र छपाइको काम समयमै सम्पन्न हुन नसकेकाले बन्दसत्र स्थगित गरिएको जानकारी दिए।
उनका अनुसार परिचयपत्र वितरण सम्पन्न भएपछि बन्दसत्र औपचारिक रूपमा सुरु हुनेछ। महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले प्रक्रियामा कुनै विवाद वा अन्योल नआओस् भन्ने उद्देश्यले आवश्यक तयारीलाई प्राथमिकता दिइएको उनले बताए। सोमबार साँझदेखि नै परिचयपत्र वितरण थालिएको र सातै प्रदेशसहित समायोजन तथा प्रवासतर्फका प्रतिनिधिलाई छुट्टाछुट्टै केन्द्रबाट कार्ड उपलब्ध गराइने व्यवस्था गरिएको छ।
बन्दसत्र पूर्वनिर्धारित कार्यतालिकाअनुसार सञ्चालन हुने रास्वपाले जनाएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुआत अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेर गर्नेछन्। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नेछिन्, जसमा छलफल पनि हुनेछ।
त्यसपश्चात् महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सहमहामन्त्रीले पार्टी विधानमाथिको छलफल तथा अनुमोदन प्रक्रिया अघि बढाउनेछन्। विधान अनुमोदनपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
राजनीतिक प्रतिवेदनमाथि छलफल र अनुमोदन सम्पन्न भएपछि सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसपछि आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ। निर्वाचन आयोगले त्यसपछि निर्वाचन प्रक्रिया र कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ।
रास्वपाको प्रथम महाधिवेशन आइतबार चितवनको गेष्टहाउस चौरमा उद्घाटन भएको थियो। बन्दसत्रका कार्यक्रम भने उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ।
तपाईको प्रतिक्रिया