रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जीत, उज्वेकिस्तान ५–० ले पराजित
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क हात पारेको छ। कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलले एकतर्फी जीत निकालेको हो।
खेलको छैटौँ मिनेटमै रोनाल्डोले कर्नरबाट आएको बललाई जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए। त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए।
पहिलो हाफको ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगल ३–० को बलियो अवस्थामा पुग्यो। दोस्रो हाफमा पनि पोर्चुगलले आक्रामक खेल जारी राख्यो। खेलको ६०औँ मिनेटमा उज्वेकिस्तानका अब्दवोहिद नेमातोवबाट आत्मघाती गोल भएपछि पोर्चुगलले ४–० को अग्रता बनायो। खेलको ८७औँ मिनेटमा राफाएल लियाओले गोल थप्दै पोर्चुगलको ५–० को शानदार जीत सुनिश्चित गरे।
यस जितसँगै पोर्चुगल दुई खेलबाट चार अङ्कसहित समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो। यता, लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अङ्कविहीन रहँदै समूहको पुछारमा रहेको छ।
तपाईको प्रतिक्रिया