बिहीबार ११ असार २०८३
राजनीति

कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो

बुधबार असार १०, २०८३/ Wednesday 06-24-26

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियानलाई तीव्रता दिएको छ। अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पार्टीले देशका सबै ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको जनाएको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार ३५ वर्षमुनिका युवाहरूको सक्रिय सहभागिता र प्रतिनिधित्व बढाउने उद्देश्यले प्रतिनिधिहरूलाई जिल्लामा परिचालन गरिएको हो। खटाइएका प्रतिनिधिहरूले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा रहेर समन्वय, सहजीकरण तथा सदस्यता व्यवस्थापनसम्बन्धी जिम्मेवारी निर्वाह गर्नेछन्।

पार्टीका हालसम्म पाँच लाख ३८ हजार ६२२ क्रियाशील सदस्यले परिचयपत्र प्राप्त गरिसकेका छन्। यसैबीच, एक लाख ४९ हजार ३०९ सदस्यले बुझाएका फारामहरू डिजिटल प्रणालीमा प्रविष्ट गरी वडा तहबाट अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइएको छ।

दुलालले सदस्यता अद्यावधिकका लागि तोकिएको समय थप गरिएकाले आगामी दिनमा क्रियाशील सदस्यहरूको संख्या अझ बढ्ने अपेक्षा गरिएको बताए। पार्टीले डिजिटल प्रणालीमार्फत सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया