बिहीबार ११ असार २०८३
राजनीति

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

बुधबार असार १०, २०८३/ Wednesday 06-24-26

काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले तयारीका कामहरू अघि बढाइरहेको छ। यसक्रममा पछिल्लो तीन महिनाभित्र देशभर एक लाख ८१ हजार ३६७ जना नयाँ मतदाता थपिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिकका लागि १८ हजार ६२२ वटा निवेदन प्राप्त भएका छन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनका बेला देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सूचीकृत थिए।

आयोगले आगामी निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन मतदाता नामावली अद्यावधिक गर्ने, मतदान स्थल तथा केन्द्रहरूको पुनरावलोकन गर्ने लगायतका तयारीका काम सञ्चालन गरिरहेको जनाएको छ।

स्थानीय तह निर्वाचनको तयारीबारे यही असार ४ गते राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय समावेशीकरण, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका पदाधिकारीसँग छलफलसमेत भएको थियो।

छलफलका क्रममा निर्वाचनको निर्धारित मितिभन्दा कम्तीमा छ महिना अघि निर्वाचन घोषणा गर्नुपर्ने, आवश्यक बजेट समयमै उपलब्ध गराउनुपर्ने, आयोग र मातहतका निकायका रिक्त पदहरू पूर्ति गर्नुपर्ने लगायत सुझाव प्रस्तुत गरिएको थियो।

यस्तै, मतदाता नामावली व्यवस्थापन प्रणालीलाई थप प्रविधिमैत्री बनाउने, आधुनिक उपकरण प्रयोग गरेर मतपत्र छाप्ने तथा निर्वाचन प्रक्रियामा गलत सूचना फैलिन नदिन प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने विषयमा पनि जोड दिइएको थियो।

तपाईको प्रतिक्रिया