बिहीबार ११ असार २०८३
अर्थ

विराटनगर महानगरपालिकाको ल्यायाे ३ अर्ब ५६ करोड बजेट

बुधबार असार १०, २०८३/ Wednesday 06-24-26

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न नगरसभामा उपप्रमुख शिल्पा निरला कार्कीले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा करिब १० करोड रुपैयाँ कम बजेट प्रस्ताव गरिएको जानकारी दिइन्।

चालु आर्थिक वर्ष २०८२–०८३ का लागि महानगरले ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो। नयाँ बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

पूर्वाधारतर्फ वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख रुपैयाँ र नगरस्तरीय योजनाका लागि ६० करोड रुपैयाँ छुट्याइएको छ। यस्तै, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि १५ करोड रुपैयाँ र विगतका दायित्व भुक्तानीका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

सामाजिक विकास क्षेत्रमा २६ करोड ५० लाख ५९ हजार रुपैयाँ बजेट राखिएको छ। यसअन्तर्गत शिक्षाका लागि १० करोड ९ लाख रुपैयाँ र स्वास्थ्य सेवाका लागि ७ करोड ३ लाख रुपैयाँ छुट्याइएको छ।

आर्थिक विकासतर्फ ३ करोड २६ लाख ३७ हजार रुपैयाँ विनियोजन गरिएको छ। कृषि विकासका कार्यक्रमका लागि ४६ लाख रुपैयाँ तथा पशु स्वास्थ्य सेवाका लागि १ करोड ४२ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

त्यसैगरी, सुशासन तथा संस्थागत विकासका लागि २ करोड ९३ लाख रुपैयाँ र वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ। फोहोरमैला व्यवस्थापनमा १ करोड २८ लाख रुपैयाँ खर्च गरिनेछ भने प्रशासनिक तथा कार्यालय सञ्चालन खर्चका लागि ७६ करोड २८ लाख ७८ हजार रुपैयाँ छुट्याइएको छ।

तपाईको प्रतिक्रिया