बुदिमिरको निर्णायक गोलमा क्रोएसियाको जीत, पानामा बन्यो विश्वकपबाट बाहिरिने पहिलो टोली
टोरन्टो । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामामाथि १–० को संघर्षपूर्ण जीत निकाल्दै नकआउट चरण पुग्ने सम्भावनालाई जीवित राखेको छ। यता, लगातार दोस्रो हार बेहोरेसँगै पानामा समूह चरणको एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ।
टोरन्टोमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पानामाले सुरुआती समयमा तीव्र आक्रमण गर्दै क्रोएसियामाथि दबाब सिर्जना गरे पनि प्राप्त अवसरलाई गोलमा परिणत गर्न सकेन।
दोस्रो हाफको सुरुआतमै क्रोएसियाली प्रशिक्षक ज्लाट्को डालिचले टोलीमा आक्रामक परिवर्तन गर्दै दुई खेलाडीलाई मैदान प्रवेश गराए। प्रशिक्षकको निर्णय खेलको ५४औँ मिनेटमा फलदायी सावित भयो। जोसिप स्टानिसीचले दिएको क्रसमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका एन्टे बुदिमिरले नजिकको दूरीबाट उत्कृष्ट गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए। उक्त गोल नै खेलको निर्णायक गोल बन्यो।
यस जितसँगै क्रोएसियाका कप्तान लुका मोड्रिचका लागि पनि ऐतिहासिक उपलब्धि थपिएको छ। ४० वर्षीय अनुभवी मिडफिल्डरले आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल खेलेका हुन्। उनी पुरुष अन्तर्राष्ट्रिय फुटबल इतिहासमा २०० खेलको कीर्तिमान बनाउने विश्वका चौथा खेलाडी बनेका छन्। मोड्रिच ८१औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए।
पहिलो खेलमा इङ्ल्यान्डसँग पराजित भएको पानामाले दोस्रो खेलमा पनि अंक जोड्न नसक्दा विश्वकप यात्रा समूह चरणमै टुंगिएको छ। यद्यपि टोलीले खेलभर संघर्षपूर्ण प्रदर्शन गर्दै क्रोएसियालाई सहज खेल्न भने दिएको थिएन।
यस जितसँगै क्रोएसियाले समूह ‘एल’ मा पहिलो तीन अंक जोडेको छ। अब शनिबार हुने घानाविरुद्धको खेल क्रोएसियाका लागि निर्णायक हुनेछ। उक्त खेलमा जीत हात पारेमा क्रोएसियाले अन्तिम ३२ मा स्थान सुरक्षित गर्नेछ।
यसअघि सोही समूहको अर्को खेलमा इङ्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका थिए, जसले समूहको प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।
तपाईको प्रतिक्रिया