बिहीबार ११ असार २०८३
राजनीति

९९ केन्द्रीय सदस्यका लागि ४०० भन्दा बढीले दिए उम्मेदवारी

बुधबार असार १०, २०८३/ Wednesday 06-24-26

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया लम्बिने भएको छ। ९९ जना केन्द्रीय सदस्य पदका लागि हुने निर्वाचनमा हालसम्म निर्वाचन आयोगले उम्मेदवारको सर्टलिस्ट नै सार्वजनिक गर्न नसक्दा प्रक्रिया अघि बढ्न नसकेको हो।

खुला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा सेट गर्नुपर्ने प्राविधिक तयारी आवश्यक भए पनि आयोगबाट सूची प्राप्त नभएकाले ढिलाइ भएको प्राविधिक नवराज पाण्डेले जानकारी दिए।

उनका अनुसार, “बिहान ४ बजेसम्म काम गरेर सबै प्राविधिक तयारी पूरा गरिसकेका छौँ। आयोगबाट उम्मेदवारको सूची आउने बित्तिकै क्लस्टरअनुसार सेटिङ मिलाइन्छ। सबै प्रक्रिया मिलाउँदा समय लाग्छ।”

उनले एक जना मतदातालाई मतदान गर्न कम्तीमा २० मिनेट समय लाग्ने बताए। ४०० भन्दा बढी उम्मेदवार रहेका र करिब ४५ सय मतदाता सहभागी हुने भएकाले मतदान प्रक्रिया १५ देखि २० घण्टासम्म लम्बिन सक्ने अनुमान गरिएको छ।

आयोगले मतदानका लागि दुई प्रक्रिया अपनाएको छ। विदेशमा रहेका सदस्यहरूले भने एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ। पहिलो चरणमा मतदान सम्पन्न भएपछि मात्र दोस्रो चरणमा अन्य पदाधिकारीको निर्वाचन हुनेछ।

रास्वपामा १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। मतदानका लागि ‘राम–लक्ष्मण’ भोटिङ मेसिन प्रयोग गरिएको छ भने स्थलमा करिब ८० वटा मेसिन तयारी अवस्थामा राखिएको प्राविधिक पक्षले जनाएको छ।

 

तपाईको प्रतिक्रिया