बिहीबार ११ असार २०८३
राजनीति

महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री बालेन

बुधबार असार १०, २०८३/ Wednesday 06-24-26

चितवन ।  चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सम्पन्न हुनुअघि नै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन्।

शाह ७ असारमा श्रीमती र छोरीसहित चितवन पुगेका थिए। उनी आज बुद्ध एयरमार्फत काठमाडौं प्रस्थान गरेका हुन्। उनीसँगै सचिवालयका केही सदस्यहरू पनि राजधानी फर्किएका छन्।

महाधिवेशनको उद्घाटन सत्रमा ७ असारमा सम्बोधन गरेका शाहले त्यसको भोलिपल्ट चितवन राष्ट्रिय निकुञ्ज र सौराहा क्षेत्रको भ्रमण गरेका थिए। उनी ९ असारको साँझ मात्रै महाधिवेशनको बन्दसत्रमा सहभागी भएका थिए।

करिब डेढ घण्टा महाधिवेशनस्थलमा बिताएका शाहले पार्टी सभापति पदका लागि रवि लामिछानेको उम्मेदवारी प्रस्तावकको भूमिका निर्वाह गरेका थिए।

चितवन बसाइँका क्रममा शाह कालिका नगरपालिका–९, शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए, जुन महाधिवेशनस्थलबाट करिब १६ किलोमिटर पूर्व–उत्तर दिशामा पर्छ।

सोही रिसोर्टमा खिचिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै शाहले “भिजिट चितवन, न्यानो ठाउँ” भन्दै चितवन भ्रमणको अनुभव साझा गरेका छन्।

तपाईको प्रतिक्रिया