रास्वपा महाधिवेशन : पदाधिकारीका लागि ४ बजेबाट मतदान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचन आज दिउँसो ४ बजेदेखि सुरु गर्ने तयारी भइरहेको छ। पहिलो चरणको मतदान सम्पन्न भएसँगै निर्वाचन समितिले अब पदाधिकारी चयनतर्फको प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो।
रास्वपाका नेता मनिष झाका अनुसार केन्द्रीय सदस्य चयनका लागि भएको मतदान केहीबेरअघि मात्र सम्पन्न भएको छ। निर्वाचन आयोगबाट प्राप्त प्रारम्भिक विवरणअनुसार ८० वटा मतदान बुथमार्फत करिब ३ हजार १ सय मत खसेको अनुमान गरिएको छ।
उनले प्रत्येक स्टेशनअन्तर्गत आठ वटा उप–स्टेशन गरी ८० मतदान बुथ सञ्चालन गरिएको जानकारी दिए। औसतमा प्रत्येक स्टेशनबाट करिब ३१० मत खसेको आयोगको तथ्यांक रहेको उनको भनाइ छ।
झाले महाधिवेशनमा देखिएको प्रतिनिधिहरूको सहभागिता र उत्साहलाई पार्टीले सकारात्मक रूपमा लिएको बताए। साथै, सभापति रवि लामिछानेले दोस्रो चरणको निर्वाचनको तयारी तीव्र बनाउन निर्देशन दिएको जानकारी पनि उनले दिए।
दोस्रो चरणमा खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई जना खुला सहमहामन्त्री तथा दुई जना महिला सहमहामन्त्री पदका लागि मतदान हुने तय भएको छ।
निर्वाचन आयोगको अनुमानअनुसार एक प्रतिनिधिले ४ देखि ५ मिनेटभित्र मतदान प्रक्रिया पूरा गर्न सक्ने भएकाले सोही आधारमा दोस्रो चरणको मतदान व्यवस्थापनको तयारी अगाडि बढाइएको नेता झाले बताए
तपाईको प्रतिक्रिया