सोमबार १५ असार २०८३
बिश्वो

युद्धविराम फेरि तोडिए इरानको अस्तित्व नै संकटमा पर्न सक्छ : ट्रम्प

आइतबार असार १४, २०८३/ Sunday 06-28-26

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौताको निरन्तर उल्लंघन भए इरानविरुद्ध थप कडा सैन्य कारबाही गरिने चेतावनी दिएका छन्। उनले यस्तो अवस्था आए इस्लामिक गणतन्त्र इरानको अस्तित्व नै समाप्त हुन सक्ने दाबी गरेका हुन्।

ट्रम्पको यो अभिव्यक्ति अमेरिकाले हालै इरानका सैन्य संरचनामाथि गरेको आक्रमणपछि आएको हो। अमेरिकी पक्षले पानामाको झण्डा बोकेको एक तेल ट्यांकरलाई इरानले निशाना बनाएपछि त्यसको प्रतिकारस्वरूप सैन्य कारबाही गरिएको जनाएको छ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले युद्धविराम पुनः उल्लंघन भएपछि अमेरिकी लडाकु विमानहरूले इरानका मिसाइल तथा ड्रोन भण्डारण केन्द्र र राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “युद्धविराम बारम्बार उल्लंघन भइरहेको छ। अमेरिकी सेनाले त्यसको जवाफस्वरूप इरानका रणनीतिक सैन्य पूर्वाधारमाथि आक्रमण गरेको छ।”

ट्रम्पले इरानले आफ्नो व्यवहार परिवर्तन नगरे थप कठोर कदम चाल्न अमेरिका बाध्य हुन सक्ने चेतावनी पनि दिएका छन्। उनका अनुसार, “उनीहरूले अझै पनि पाठ नसिक्ने सम्भावना छ। यदि यस्तो क्रम जारी रह्यो भने हामी संयममा बस्ने अवस्थामा रहने छैनौं र आवश्यक परे सैन्य बल प्रयोग गरेर सुरु गरिएको अभियानलाई पूर्णता दिनेछौं।”

उनले अन्त्यमा चेतावनी दिँदै भनेका छन्, “यदि त्यस्तो अवस्था आयो भने इस्लामिक गणतन्त्र इरानको अस्तित्व नै रहने छैन।”

 

तपाईको प्रतिक्रिया