सोमबार १५ असार २०८३
जीवनशैली

६ महिनापछि टिचिङ अस्पतालमा स्वास्थ्य बीमाको ओपीडी सेवा पुनः सञ्चालन

आइतबार असार १४, २०८३/ Sunday 06-28-26

काठमाडौं।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले करिब ६ महिनादेखि स्थगित रहेको स्वास्थ्य बीमाअन्तर्गतको सेवा सोमबार (असार १५) देखि आंशिक रूपमा पुनः सञ्चालन गर्ने भएको छ।

अस्पतालले आइतबार सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा हाललाई ओपीडी (बहिरंग) सेवामा मात्रै लागू हुने गरी पुनः सुरु गरिएको जनाएको हो।

अस्पतालका अनुसार स्वास्थ्य बीमाको ओपीडी टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि २:३० बजेसम्म बीमा टिकट काउन्टरबाट वितरण गरिनेछ।

यसअघि अस्पतालले गत पुस २२ गते सूचना जारी गर्दै माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सबै सेवा स्थगित गरेको थियो। त्यसबेला स्वास्थ्य बीमा बोर्डबाट ४० करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको र दाबी रकमको ५० प्रतिशत मात्रै स्वीकृत हुने परिपाटीका कारण सेवा निरन्तर सञ्चालन गर्न कठिन भएको अस्पतालले जनाएको थियो।

हालै स्वास्थ्य बीमा बोर्डले दाबी भुक्तानी प्रक्रिया तीव्र बनाएपछि अस्पतालले सेवा आंशिक रूपमा पुनः सञ्चालन गरेको अनुमान गरिएको छ। केही दिनअघि बोर्डले ३६४ स्वास्थ्य संस्थालाई एकैपटक दुई अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको थियो। सोही भुक्तानीमा टिचिङ अस्पतालले ४ करोड ४ लाख ४ हजार १९४ रुपैयाँ प्राप्त गरेको थियो।

यद्यपि, स्वास्थ्य बीमा ऐनले स्वास्थ्य संस्थालाई आफूखुशी सेवा स्थगित गर्ने वा आंशिक रूपमा सञ्चालन गर्ने छुट दिएको छैन। त्यसका बाबजुद टिचिङ अस्पतालले यसअघि पनि सेवा रोक्ने र पुनः सञ्चालन गर्ने निर्णय गर्दै आएको छ।

अस्पतालले स्वास्थ्य बीमासम्बन्धी थप जानकारी वा समस्या परेमा स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ। यसका लागि शाखा प्रमुख डा. भावना घलेलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको अस्पतालले जनाएको छ।

 

तपाईको प्रतिक्रिया