काठमाडौं । प्रतिनिधिसभाले आर्थिक विधेयक २०८३ बहुमतका आधारमा पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले अनुमोदन गरेको हो।
विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरूबारे भएको छलफलपछि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले आगामी आर्थिक वर्षदेखि बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पूँजीगत खर्च न्यून हुने विगतको प्रवृत्तिमा सुधार आउने विश्वास पनि व्यक्त गरे।
उनका अनुसार सरकारले लागू गरेको कर नीतिले न्यून आय भएका नागरिकलाई अतिरिक्त भार नपर्ने व्यवस्था गरिएको छ। साथै, अर्थतन्त्रलाई गति दिन महत्वाकांक्षी बजेट ल्याइएको उल्लेख गर्दै यसको सकारात्मक प्रभाव आगामी वर्षदेखि देखिन थाल्ने दाबी गरे।
अर्थमन्त्री वाग्लेले मूल्य अभिवृद्धि कर (भ्याट) को बहुदर प्रणालीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिने जानकारी दिए। समितिको प्रतिवेदनका आधारमा आवश्यक नीतिगत निर्णय लिइने उनले बताए।
बजेट कार्यान्वयनका लागि आवश्यक खर्च मुख्यतः आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने उल्लेख गर्दै राजस्व संकलनमा अप्रत्याशित समस्या आएमा आपतकालीन व्यवस्था अपनाउन सकिने उनले स्पष्ट पारे।
राइड सेयरिङ व्यवसायको कारोबार अर्बौं रुपैयाँमा पुगेको उल्लेख गर्दै त्यस्ता सेवाहरूलाई पनि करको दायरामा ल्याउन आवश्यक नीतिगत व्यवस्था गरिने जानकारी उनले दिए।
विधेयकमाथि परेका केही संशोधन प्रस्ताव प्रस्तावकर्ताले फिर्ता लिएका छन् भने अधिकांश प्रस्ताव अस्वीकृत भएका छन्। यद्यपि, केही संशोधन प्रस्ताव भने स्वीकार गरिएको छ।
तपाईको प्रतिक्रिया