काठमाडौँ । प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ। आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव सांसदहरूको सर्वसम्मत समर्थनसहित अनुमोदन भएको हो।
विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले लिने ऋण उत्पादनमूलक तथा पूर्वाधार विकासका आयोजनामा केन्द्रित हुने बताए। उनका अनुसार वैदेशिक ऋण विशेषगरी पूर्वाधार निर्माणका लागि प्राप्त हुने भएकाले त्यसले आर्थिक गतिविधि विस्तार, यातायात दूरी घटाउने तथा लागत कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ।
यद्यपि, ऋणमार्फत निर्माण गरिएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान अवस्थाले अपेक्षित नतिजा नदिएको उल्लेख गर्दै उनले यस्ता परियोजनाको प्रभावकारी अनुगमन आवश्यक रहेको बताए।
विधेयक पारित हुनुअघि सभामुख डोलप्रसाद अर्यालले दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए। सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले दर्ता गराएका संशोधन प्रस्ताव बैठकबाट अस्वीकृत भए भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए।
तपाईको प्रतिक्रिया