सोमबार १५ असार २०८३
राजनीति

भ्याटमा बहुदरबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउँछौं : अर्थमन्त्री

आइतबार असार १४, २०८३/ Sunday 06-28-26

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणाली लागू गर्ने विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने भएको छ। प्रतिनिधिसभामा आर्थिक विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार समितिले प्रस्तुत गर्ने सुझावका आधारमा मुलुकको हितलाई प्राथमिकतामा राखेर आवश्यक निर्णय गरिनेछ। भ्याटमा बहुदर प्रणाली लागू गर्ने विषयमा विभिन्न पक्षबाट आएका सुझाव र चिन्तालाई समेत सरकारले गम्भीर रूपमा अध्ययन गर्ने उनले बताए।

अर्थमन्त्री वाग्लेले बहुदर प्रणाली लागू गर्दा राज्यको नियामक क्षमता कमजोर भए उच्च करदरबाट न्यून करदरमा झार्न अनावश्यक दबाब र लबिङ बढ्न सक्ने तर्क पनि प्रस्तुत गरे। उनका अनुसार सुशासन कमजोर भएको अवस्थामा यस्तो व्यवस्था कार्यान्वयन गर्न चुनौतीपूर्ण हुन सक्ने धारणा विज्ञहरूले राखेका छन्।

यद्यपि, निजी क्षेत्रका व्यवसायीहरूले भने भ्याटमा बहुदर प्रणाली लागू गर्न निरन्तर दबाब दिँदै आएको उल्लेख गर्दै उनले चालु वर्षभरि यस विषयमा व्यापक बहस र अध्ययन अघि बढाइने जानकारी दिए।

तपाईको प्रतिक्रिया