काठमाडौँ उपत्यकामा कागमार्फत बर्डफ्लु फैलिएको विभागको निष्कर्ष
काठमाडौँ । पशु सेवा विभागले काठमाडौँ उपत्यकामा देखिएको बर्डफ्लु सङ्क्रमण कागमार्फत फैलिएको जनाएको छ। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार कागमा बर्डफ्लु पुष्टि भएपछि सङ्क्रमण उपत्यकाका विभिन्न क्षेत्रमा फैलिएको हो।
उनले कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रण गर्न सम्भव भए पनि जङ्गली कागलाई नियन्त्रण गर्न नसकिने भएकाले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको बताए। उनका अनुसार सङ्क्रमित कागले एक स्थानबाट अर्को स्थानमा उडेर भाइरस फैलाउने गरेको छ। सदर चिडियाखानासहित विभिन्न क्षेत्रमा पनि कागमार्फत सङ्क्रमण सरेको विभागको भनाइ छ।
डा. दाहालका अनुसार कागमा देखिएको बर्डफ्लु करिब २१ दिनसम्म सक्रिय रहने भएकाले सङ्क्रमण फैलाउने जोखिम उच्च हुन्छ। मरेका काग कहाँ खसेका छन् भन्ने पत्ता लगाउन कठिन हुने र तिनका अवशेष तथा दिसाबाट समेत भाइरस फैलिन सक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने उनले बताए।
हाल काठमाडौँ, ललितपुर र भक्तपुर गरी उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु पुष्टि भएको छ। विभागका अनुसार देशभरका ११ जिल्लाका करिब १०० स्थानमा बर्डफ्लुको सङ्क्रमण देखिएको छ।
महानिर्देशक दाहालले काठमाडौँ उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनोहरा नगरपालिका बाहेक अधिकांश प्रभावित क्षेत्रमा सङ्क्रमण नियन्त्रणमा आइसकेको जानकारी दिए।
बर्डफ्लु पन्छीमा लाग्ने उच्च सङ्क्रामक तथा उच्च मृत्युदर भएको रोग भएकाले कागमा सङ्क्रमण देखिएको अवस्थामा सर्वसाधारणलाई थप सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
साथै, विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष गठन गरी सङ्घ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा प्रभावित क्षेत्रमा नियन्त्रण अभियानलाई तीव्र बनाएको जनाएको छ।
तपाईको प्रतिक्रिया