मंगलबार १६ असार २०८३
समाज

आज असार १५ : धान दिवस, दही–चिउरा खाएर मनाइँदै

सोमबार असार १५, २०८३/ Monday 06-29-26

काठमाडौं । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर उत्साहका साथ मनाइँदै छ। परम्पराअनुसार किसानहरू खेतमा धान रोप्दै, हिलो खेल्दै र दही–चिउरा खाएर पर्व मनाइरहेका छन्। सरकारी निकाय, स्थानीय तह र कृषि संस्थाहरूले पनि विभिन्न स्थानमा सामूहिक रोपाइँ तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्।
यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै छ। कृषि उत्पादन बढाउने, किसानलाई आधुनिक प्रविधिसँग जोड्ने र खाद्य सुरक्षालाई मजबुत बनाउने उद्देश्यसहित दिवस मनाइएको हो।
यद्यपि, पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँ अपेक्षाकृत सुस्त देखिएको छ। कृषि विभागका अनुसार हालसम्म देशभर करिब ११.३३ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। वर्षा अभावका कारण विशेषगरी तराईका धेरै जिल्लामा किसान अझै आकाशे पानीको प्रतीक्षामा छन्।
नेपाली समाजमा असार १५ लाई किसानको मेहनतको सम्मान गर्ने दिनका रूपमा लिइन्छ। खेतमा रोपाइँ सकेपछि दही–चिउरा खाने परम्पराले कृषि संस्कृति, सामूहिक श्रम र आपसी सद्भावको सन्देश दिने विश्वास गरिन्छ।

तपाईको प्रतिक्रिया