मंगलबार १६ असार २०८३
खेलकुद

नयाँ इतिहास रच्दै क्यानडा पहिलो पटक अन्तिम १६ मा, अफ्रिका १–० गोलले पराजित

सोमबार असार १५, २०८३/ Monday 06-29-26

काठमाडौं । क्यानडाले फिफा विश्वकपमा नयाँ इतिहास रच्दै पहिलो पटक नकआउट चरणको खेल जितेर अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। गएराति भएको प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडाले ऐतिहासिक सफलता हात पारेको हो।

क्यानडाको जितमा स्टेफन युस्टाकियो निर्णायक बने। उनले पहिलो हाफमा गरेको एकमात्र गोल नै टोलीलाई जित दिलाउन पर्याप्त बन्यो। दक्षिण अफ्रिकाले खेलभरि बराबरी गोलका लागि लगातार दबाब सिर्जना गरे पनि प्रभावकारी फिनिसिङ गर्न नसक्दा खेलमा फर्किन सकेन।

क्यानडाको सुदृढ रक्षापंक्ति र अनुशासित खेलले दक्षिण अफ्रिकाका आक्रमणलाई निष्प्रभावी बनायो। ऐतिहासिक जितसँगै क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा पुगेको हो। यस उपलब्धिपछि देशभर फुटबल समर्थकले उत्सव मनाइरहेका छन्।

यसैबीच, विश्वकप अन्तर्गत सोमबार हुने प्रि–क्वार्टरफाइनलमा ब्राजिलले जापानसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को खेलमा नेदरल्यान्ड्स र मोरक्को आमनेसामने हुनेछन्।

 

तपाईको प्रतिक्रिया