विश्वविजेता ब्राजिल भर्सेस जापानः वर्चस्व जोगाउने कि इतिहास बदल्ने?
काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिल र एसियाली शक्ति जापानबीच आज विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत हुने बहुप्रतीक्षित नकआउट भिडन्तले विश्व फुटबल समर्थकको ध्यान खिचेको छ। एकातिर आफ्नो ऐतिहासिक वर्चस्व कायम राख्ने लक्ष्यमा ब्राजिल हुनेछ भने अर्कोतर्फ जापान नयाँ इतिहास रच्ने अभियानमा मैदान उत्रिनेछ।
समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको ब्राजिल उपाधिको प्रमुख दाबेदारमध्ये एक मानिएको छ। अनुभवी खेलाडी र बलियो टोली संयोजनका कारण ब्राजिललाई फेरि एकपटक विश्वकप जित्ने टोलीका रूपमा हेरिएको छ।
यता, समूह ‘एफ’को उपविजेताका रूपमा अन्तिम ३२ मा पुगेको जापानले पछिल्ला वर्षहरूमा विश्व फुटबलमा आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गरेको छ। युरोपका शीर्ष लिगमा खेल्ने खेलाडीहरूको बढ्दो संख्या र अनुशासित टोली खेलका कारण जापान यसपटक कुनै पनि बलिया टोलीलाई चुनौती दिन सक्षम देखिएको छ।
जापानका मुख्य प्रशिक्षक हाजिमे मोरियासुले आफ्नो टोली विगतको भन्दा धेरै परिपक्व र आत्मविश्वासी बनेको बताएका छन्। उनले ब्राजिलविरुद्ध सम्मानका साथ खेल्ने भए पनि डराएर मैदानमा नउत्रिने स्पष्ट पारेका छन्।
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले भने जापानलाई कमजोर आँक्नु ठूलो भूल हुने बताएका छन्। उनका अनुसार नकआउट चरणमा कुनै पनि टोलीलाई सहज प्रतिद्वन्द्वी मान्न मिल्दैन र आफ्नो टोली उत्कृष्ट प्रदर्शनमा केन्द्रित रहनेछ।
जापानले सन् २०२५ को अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै ब्राजिललाई ३–२ ले पराजित गरेको थियो। त्यस नतिजाले जापानी टोलीको आत्मविश्वास बढाए पनि विश्वकपको नकआउट चरण पूर्णतः फरक दबाब र चुनौती हुने दुवै टोलीले स्वीकार गरेका छन्।
विश्वकप इतिहासमा ब्राजिल र जापानबीचको प्रतिस्पर्धामा ब्राजिलको स्पष्ट वर्चस्व रहेको छ। तर पछिल्ला वर्षमा जापानले गरेको निरन्तर सुधार र ठूला टोलीविरुद्धको प्रभावशाली प्रदर्शनका कारण यसपटकको भेटलाई निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया