शुक्रबार २६ असार २०८३
राजनीति

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट

बिहीबार असार २५, २०८३/ Thursday 07-09-26

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीका केही प्रावधान संविधानविपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ।

कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र राष्ट्रियसभा सचेतक पदम परियारले संयुक्त रूपमा रिट दर्ता गराएका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट हाल अध्ययनका लागि राखिएको छ।

रिटमा प्रतिनिधिसभा नियमावलीमा गरिएको संविधान संशोधनसम्बन्धी व्यवस्था तथा विशेषाधिकारसँग सम्बन्धित केही प्रावधान गैरसंवैधानिक रहेको जिकिर गरिएको छ।

कांग्रेसले विशेषगरी नियमावलीको दफा २४७ माथि आपत्ति जनाएको छ। उक्त दफामा तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने तथा नैतिक पतन हुने प्रकृतिको फौजदारी अभियोगमा थुनामा रहेका सांसदलाई मात्र निलम्बन हुने व्यवस्था गरिएको छ। यही प्रावधान संविधानसँग बाझिएको दाबी गर्दै कांग्रेसले त्यसको संवैधानिक परीक्षणको माग गरेको हो।

उल्लेखनीय छ, प्रतिनिधिसभाले उक्त नियमावली गत जेठ २१ गते पारित गरेको थियो।

तपाईको प्रतिक्रिया