शुक्रबार २६ असार २०८३
राजनीति

प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?

बिहीबार असार २५, २०८३/ Thursday 07-09-26

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उद्योग, कृषि, स्वास्थ्य, पूर्वाधार, खानेपानी, वैदेशिक रोजगारी, विद्युत् विस्तारदेखि विपद् व्यवस्थापनसम्मका विविध समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको शून्य समयमा बोल्दै सांसदहरूले साना तथा मझौला उद्योगको प्रवर्द्धन, सार्वजनिक स्वास्थ्य, कृषि उत्पादन, सडक पूर्वाधार, सीमा भन्सार, सार्वजनिक सेवा र नागरिकका दैनिक जीवनसँग जोडिएका समस्याको समाधानका लागि सरकारसँग प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन्।

सांसद अनुष्का श्रेष्ठले साना तथा मझौला उद्योग अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले त्यस्ता उद्योगलाई सरकारी सहयोग, सीप विकास तालिम तथा नीतिगत सहजीकरण आवश्यक रहेको बताइन्। सांसद अभिषेकप्रताप शाहले लुम्बिनी प्रदेशस्थित कृष्णनगर भन्सारको स्तरोन्नतिको माग गरे भने सांसद अम्बिकादेवी सङ्ग्रौलाले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले स्वास्थ्य संस्थाको नियमित अनुगमन हुनुपर्ने धारणा राखिन्।

सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे। सांसद आकृति अवस्थीले सार्वजनिक स्थलमा धुम्रपान निषेधसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।

कृषि क्षेत्रको विषय उठाउँदै सांसद आनन्दबहादुर चन्दले माटो परीक्षण र रासायनिक मलको सही प्रयोगसम्बन्धी तालिम आवश्यक रहेको बताए। सांसद करिष्मा कठरियाले धान रोपाइँको समयमा किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग आग्रह गरिन्।

पूर्वाधारतर्फ सांसद आरेन राईले खोटाङ–भोजपुर सडक पुनर्निर्माणको माग गरे भने सांसद आशिष गजुरेलले विकास निर्माणका लागि छुट्याइएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। सांसद एशुदाकुमारी बरालले कर्णालीका सडक यातायातलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद आशिका तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क घटाउन आग्रह गरिन् भने सांसद उत्तमप्रसाद पौडेलले सार्वजनिक यातायातलाई अपाङ्गतामैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए।

स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि स्पष्ट नीति आवश्यक रहेको सांसद ओजस्वी शेरचनको भनाइ थियो। सांसद कामिनी कुमारीले जलेश्वर अस्पतालको स्तरोन्नतिको माग गरिन्।

वैदेशिक रोजगारीमा नेपाली ठगीका घटना बढ्दै गएको भन्दै सांसद कमल सुवेदीले प्रभावकारी नियमन गर्न सरकारलाई आग्रह गरे।

खानेपानीको विषयमा सांसद कविन्द्र बुर्लाकोटीले गोरखाका केही क्षेत्रमा धारा भए पनि पानी नआउने समस्या समाधान गर्न माग गरे। सांसद कुलभक्त शाक्यले मेलम्ची खानेपानी आयोजना बन्द भएपछि काठमाडौं उपत्यकामा देखिएको खानेपानी संकट समाधानका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

सांसद कुसुम महर्जनले सिंहदरबारभित्र रहेका राष्ट्रिय सम्पत्तिको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने बताइन्। सांसद खगेन्द्र कर्णले जङ्गली हात्तीको आक्रमणबाट हुने जनधनको क्षति रोक्न प्रभावकारी योजना ल्याउन आग्रह गरे भने सांसद खडकबहादुर बुढाले कर्णाली प्रदेशमा विद्युत् पहुँच विस्तार गर्न सरकारको ध्यानाकर्षण गराए।

यस्तै, सांसद गजाला शमीम मिकरानीले वर्षायामको मध्य चरणमा पुगेकाले सम्भावित प्राकृतिक विपद्को पूर्वतयारी र व्यवस्थापनमा सरकारलाई सक्रिय रहन सुझाव दिइन्।

तपाईको प्रतिक्रिया