शुक्रबार २६ असार २०८३
खेलकुद

क्वार्टरफाइनलको पहिलो खेलमा आज फ्रान्स र मोरक्को भिड्दै

बिहीबार असार २५, २०८३/ Thursday 07-09-26

काठमाडौं। फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु हुँदैछ। पहिलो क्वार्टरफाइनलमा उपाधिको बलियो दावेदार फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्को बोस्टनस्थित रंगशालामा आमनेसामने हुनेछन्।

जारी प्रतियोगितामा फ्रान्सले प्रभावशाली प्रदर्शन गर्दै लगातार पाँचै खेल जितेको छ। फ्रान्सले हालसम्म १४ गोल गर्दै केवल २ गोल मात्रै बेहोरेको छ, जसले टोलीलाई प्रतियोगिताकै सबैभन्दा सन्तुलित र खतरनाक टोलीका रूपमा स्थापित गरेको छ।

गोल्डेन बुटका प्रमुख दावेदार केलियन एम्बाप्पेले पाँच खेलमा सात गोल गर्दै फ्रान्सको आक्रमण पंक्तिको नेतृत्व गरिरहेका छन्। उनीसँगै ओस्मान डेम्बेले, माइकल ओलिसे र ब्राडली बारकोलाको उपस्थितिले फ्रान्सको अग्रपंक्तिलाई थप बलियो बनाएको छ।

समूह ‘आई’ मा नर्वे, सेनेगल र इराकलाई पराजित गर्दै शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा पुगेको फ्रान्सले नकआउट चरणमा स्विडेनलाई ३–० र त्यसपछि पराग्वेलाई १–० ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

फ्रान्सका सहायक प्रशिक्षक गुई स्टेफानले पराग्वेविरुद्धको कठिन जितले टोलीको परिपक्वता देखाएको उल्लेख गर्दै मोरक्को सुव्यवस्थित र काउन्टर अट्याकमा निकै खतरनाक टोली भएकाले आजको खेल चुनौतीपूर्ण हुने बताएका छन्। तेस्रो विश्वकप उपाधिको खोजीमा रहेको फ्रान्सका लागि मोरक्को ठूलो परीक्षा बन्ने अपेक्षा गरिएको छ।

यता, सन् २०२२ को कतार विश्वकपमा पहिलो अफ्रिकी तथा अरब राष्ट्रका रूपमा सेमिफाइनल पुगेको मोरक्को यसपटक पनि उत्कृष्ट लयमा छ। सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकोन) विजेता मोरक्को लगातार ३४ खेलदेखि अपराजित रहँदै फिफा वरीयताको छैटौँ स्थानमा कायम छ।

मोरक्कोका प्रशिक्षक मोहम्मद ओवाबीले आफ्नो टोली अब कसैका लागि ‘सरप्राइज’ नरहेको र विश्व फुटबलमा नयाँ इतिहास रच्ने अभियानको सुरुवात मात्र भएको बताएका छन्।

समूह ‘सी’ मा स्कटल्यान्ड र हाइटीलाई पराजित गर्दै तथा ब्राजिलसँग बराबरी खेल्दै सात अंकसहित दोस्रो स्थानमा रहेको मोरक्कोले नकआउट चरणमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको थियो। त्यसपछि अन्तिम १६ मा क्यानाडालाई ३–० ले सहज रूपमा पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो।

मोरक्कोका विङ्गर ब्राहिम डियाज चार असिस्टसहित उत्कृष्ट लयमा छन् भने सुफियान राहिमी र अजेदिन उनाहीले समान दुई–दुई गोल गरेका छन्।

इतिहास हेर्दा फ्रान्स र मोरक्कोबीच हालसम्म ६ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये फ्रान्सले चार खेल जितेको छ भने दुई खेल बराबरीमा टुंगिएका छन्। दुवै टोलीबीचको पछिल्लो भेट सन् २०२२ को विश्वकप सेमिफाइनलमा भएको थियो, जहाँ फ्रान्स २–० ले विजयी बनेको थियो।

 

तपाईको प्रतिक्रिया