शनिबार २७ असार २०८३
खेलकुद

मोरोक्कोलाई २-० ले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

शुक्रबार असार २६, २०८३/ Friday 07-10-26

काठमाडौं ।  किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले अफ्रिकी च्याम्पियन मोरोक्कोलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

बोस्टनस्थित जिलेट स्टेडियममा बिहीबार राति सम्पन्न क्वार्टरफाइनलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले खेलमाथि पूर्ण नियन्त्रण जमाउँदै दुई गोल गरेको थियो।

खेलको ६०औँ मिनेटमा एमबाप्पेले डी–बक्सको किनाराबाट प्रहार गरेको आकर्षक कर्लिङ सट गोलमा परिणत भएपछि फ्रान्सले अग्रता लिएको थियो। जारी विश्वकपमा यो उनको आठौँ गोल हो।

त्यसको केवल छ मिनेटपछि ओसमान डेम्बेलेले व्यक्तिगत कौशल प्रदर्शन गर्दै अर्को गोल थपेपछि फ्रान्सले २–० को सहज जित सुनिश्चित गर्‍यो।

एमबाप्पेसँग पहिलो हाफमै गोल गर्ने अवसर पनि थियो। २८औँ मिनेटमा नोसैर मज्राउईको फलपछि फ्रान्सले पेनाल्टी पाएको थियो। लामो भिएआर समीक्षापछि दिइएको पेनाल्टीमा एमबाप्पेको प्रहार भने मोरोक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गरेका थिए।

मोरोक्कोले खेलभर फ्रान्सलाई चुनौती दिने प्रयास गरे पनि प्रभावशाली आक्रमण गर्न सकेन। ८३औँ मिनेटमा एजेद्दिन ओनाहीको फ्रिकिकलाई फ्रान्सका गोलरक्षक माइक माइग्नानले बचाएपछि मात्र मोरोक्कोले पहिलोपटक पोस्टतर्फको प्रहार गर्न सकेको थियो।

यो जितसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। अब फ्रान्सले मंगलबार टेक्सासको आर्लिंगटनमा हुने अन्तिम चारको खेलमा स्पेन र बेल्जियमबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिसर्धा गर्नेछ।

 

तपाईको प्रतिक्रिया