गणेश नेपालीलाई आत्मदाहसम्म पुग्न बाध्य बनाउने अवस्थाको जिम्मा सरकारले लिनुपर्छ : प्रतिपक्ष दल
काठमाडौं। मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको निधनको विषयले प्रतिनिधिसभामा तीव्र बहस उत्पन्न गरेको छ। विपक्षी दलहरूले घटनाको नैतिक र राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै निष्पक्ष छानबिन र जवाफदेहिताको माग गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले गणेश नेपालीको मृत्युको प्रसंग उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेकपाका सांसदहरू पार्वती विक र वर्षमान पुनलगायतले नागरिकलाई आत्मदाहजस्तो चरम कदम चाल्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको उल्लेख गर्दै सरकारले घटनाको पूर्ण जिम्मेवारी लिनुपर्ने बताए।
नेपाली कांग्रेसकी सांसद बासना थापाले शरीरमा आगो लागेको अवस्थामा पनि तत्काल एम्बुलेन्स नपठाइएको आरोप लगाउँदै राज्य किन मूकदर्शक बनेको भन्दै सरकारसँग जवाफ मागिन्।
नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले ट्राफिक जरिवाना र राज्यका नीतिबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गर्दै, “राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन, गणेश नेपालीको अनुहारमा हेरेर सोच्नुस्,” भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरिन्।
राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गणेश नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनुमा राज्यका नीति र कार्यशैली नै जिम्मेवार रहेको आरोप लगाउँदै यस्ता घटना दोहोरिन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताए।
तपाईको प्रतिक्रिया