काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा निधन भएको छ।
वीर अस्पतालका अनुसार भेन्टिलेटरमा राखेर उपचार भइरहेका नेपालीको शुक्रबार बिहान ११ः२० बजे मृत्यु भएको हो।
आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका नेपालीको अनुहार, टाउको, घाँटी र छातीमा गहिरो जलन भएको थियो। चिकित्सकका अनुसार शरीरका भित्री अंगसमेत प्रभावित भएकाले उनको अवस्था सुरुदेखि नै अत्यन्त जटिल थियो।
उपचारका क्रममा वीर अस्पतालमा उनको पहिलो शल्यक्रियासमेत गरिएको थियो। तर स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएपछि अस्पतालले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी उनको अवस्था अत्यन्त गम्भीर रहेको र जुनसुकै बेला थप जटिलता आउन सक्ने जनाएको थियो।
सरकारले थप उपचारका लागि भारत लैजाने तयारी गरेको भए पनि बिरामीको अवस्था अस्थिर भएकाले तत्काल स्थानान्तरण उपयुक्त नहुने चिकित्सकको सुझावपछि उक्त निर्णय स्थगित गरिएको थियो।
आत्मदाह प्रयासपछि जीवन बचाउन चिकित्सकले निरन्तर प्रयास गरे पनि घटनाको करिब २४ घण्टापछि उनको मृत्यु भएको हो।
तपाईको प्रतिक्रिया