संसद्मा सरकारविरुद्ध खनिए सांसद महर, लगाए ‘यो सरकार मुर्दावाद’ को नारा
काठमाडौं। नेकपा एमालेका सांसद ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार र काठमाडौं महानगरपालिकामाथि कडा आलोचना गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले वीर अस्पतालमा गणेश नेपालीका आफन्त, मानवअधिकारकर्मी तथा सर्वसाधारण आक्रोशित अवस्थामा रहेको उल्लेख गरे। उनले उपचारका क्रममा परिवारलाई भेट्न नदिएको र निधनपछि पनि शव तत्काल जिम्मा नलगाइएको भन्दै असन्तुष्टि जनाए।
अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको उल्लेख गर्दै उनले सरकारले घटनालाई संवेदनशील ढंगले व्यवस्थापन गर्न नसकेको आरोप लगाए।
महरले नागरिकलाई आत्मदाहजस्तो चरम कदम चाल्नुपर्ने अवस्था सिर्जना हुनुमा राज्य नै जिम्मेवार रहेको दाबी गरे। सुकुम्बासीदेखि सर्वसाधारणसम्म विभिन्न वर्गका नागरिक अन्याय र निराशाका कारण चरम कदम चाल्न बाध्य भइरहेको उनको भनाइ थियो।
उनले योगमाया न्यौपानेको जलसमाधीको प्रसंग स्मरण गर्दै यस्ता घटनाले राज्यमाथि गम्भीर राजनीतिक र नैतिक जिम्मेवारी थप्ने चेतावनी दिए।
सांसद महरले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकार र काठमाडौं महानगरपालिकाले लिनुपर्ने माग गर्दै घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरे।
तपाईको प्रतिक्रिया