गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा
काठमाडौँ । नेकपा (एमाले) ले राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको मृत्युबारे सरकारले नैतिक र राजनीतिक दुवै जिम्मेवारी लिनुपर्ने माग गरेको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्युलाई सामान्य घटना मान्न नसकिने बताइन्। उनले यो घटनाले राज्यको नीति, प्रशासनिक व्यवहार र सरकारको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको उल्लेख गरिन्।
सांसद सुब्बाले गणेश नेपालीको मृत्यु एउटा व्यक्तिको निधनमा मात्र सीमित नभई समग्र राज्य संयन्त्रको कार्यशैलीसँग जोडिएको विषय भएको भन्दै यसको जिम्मेवारी सरकारले स्वीकार गर्नुपर्ने धारणा राखिन्।
उनले ट्राफिक जरिवानासम्बन्धी सरकारी व्यवस्थाको पुनरावलोकन आवश्यक रहेको बताउँदै लागू गरिएको जरिवाना प्रणाली व्यवहारिक, न्यायोचित र नागरिकमैत्री छ वा छैन भन्ने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन्।
सुब्बाले घटनाको निष्पक्ष, प्रभावकारी र पारदर्शी छानबिन गरी वास्तविक तथ्य सार्वजनिक गर्न तथा अनुसन्धानबाट दोषी देखिएका व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरिन्।
गणेश नेपालीको मृत्युको घटनापछि संसद्मा सरकारको भूमिकालाई लिएर निरन्तर प्रश्न उठिरहेका छन्। विपक्षी दलहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र छानबिन गरी जिम्मेवार पक्षको पहिचान र आवश्यक कारबाही सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएका छन्।
तपाईको प्रतिक्रिया