शनिबार २७ असार २०८३
समाज

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

शुक्रबार असार २६, २०८३/ Friday 07-10-26

काठमाडौं । सरकारले जलनका गम्भीर बिरामी मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीलाई चिकित्सकहरूको सल्लाहअनुसार तत्काल भारत नपठाउने निर्णय गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रारम्भिक चिकित्सकीय सिफारिसपछि भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा थप उपचारका लागि पठाउने सम्पूर्ण तयारी पूरा गरिएको थियो। सरकारले एयर एम्बुलेन्सको व्यवस्था गर्नुका साथै उपचारको सम्पूर्ण खर्च पनि व्यहोर्ने निर्णय गरिसकेको थियो। गृहमन्त्री सुदन गुरुङले पनि उद्धार तथा उपचार व्यवस्थापनमा निरन्तर समन्वय गरिरहेको जनाइएको छ।

तर हाल वीर अस्पतालको बर्न आईसीयुमा भेन्टिलेटरको सहायतामा उपचाररत गणेश नेपालीलाई अहिलेको अवस्थामा स्थानान्तरण गर्दा स्वास्थ्यमा थप जटिलता आउन सक्ने चिकित्सकहरूको निष्कर्षपछि तत्काल भारत नपठाउने निर्णय गरिएको हो।

चिकित्सकहरूको भनाइअनुसार बिरामीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचारका लागि भारत लैजान उपयुक्त हुनेछ।

गृहमन्त्री गुरुङ तथा प्रधानमन्त्री शाहको सचिवालयका सदस्यहरू उपचार व्यवस्थापनका लागि गएरातिदेखि वीर अस्पतालमै समन्वयमा खटिएको जनाइएको छ।

बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका गणेश नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

उनको उपचार वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा भइरहेको छ। उपचार टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट डा. जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष टोली संलग्न रहेको अस्पतालले जनाएको छ।

 

तपाईको प्रतिक्रिया