सरकारका गरिबविरोधी नीतिकै कारण गणेश नेपालीको मृत्यु भयो’ : ज्ञानेन्द्र शाही
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरको कार्यशैली र सरकारको नीतिको आलोचना गर्दै गरिब तथा निमुखा नागरिकलाई राजधानीमै बाँच्न कठिन हुने अवस्था सिर्जना भएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनको प्रसंग उठाउँदै शाहीले काठमाडौं महानगरको अघिल्लो नेतृत्वको कार्यशैलीका कारण अहिलेको अवस्था सिर्जना भएको टिप्पणी गरे।
उनले काठमाडौं सबै नागरिकको साझा सहर भएको उल्लेख गर्दै गरिब, दुःखी, श्रमिक र सर्वहारा वर्गले पनि सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताए।
“यो गरिब, दुःखी र निमुखा जनताको पनि सहर हो। यदि यो नेपालको राजधानी हो भने यहाँ सबै वर्गका नागरिकले समान रूपमा बाँच्न पाउनुपर्छ। तर अहिले गरिब र निमुखा जनता काठमाडौंमा बाँच्नै नसक्ने अवस्था बनेको छ,” उनले भने।
शाहीले सरकारको नीति र निर्णयहरू सम्पन्न वर्गको पक्षमा केन्द्रित भएको आरोप पनि लगाए। उनका अनुसार सरकारका ऐन, नियम र नीतिहरूले आर्थिक रूपमा सबल वर्गलाई सुविधा दिने तर गरिब र विपन्न नागरिकलाई बेवास्ता गर्ने सन्देश दिइरहेका छन्।
उनले सरकारलाई जनमुखी नीति अवलम्बन गर्न आग्रह गर्दै, “सरकार अरबपति र करोडपतिका लागि होइन, गरिब, निमुखा र अपहेलित नागरिकका लागि आवश्यक हुन्छ,” भने।
साथै, राज्यका नीति तथा कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका नागरिकको जीवनलाई थप कठिन बनाइरहेको दाबी गर्दै उनले सरकारलाई आफ्नो नीति र प्राथमिकता पुनरावलोकन गर्न आग्रह गरे।
तपाईको प्रतिक्रिया