सोमबार २९ असार २०८३
खेलकुद

फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार टोली भिड्दै

आइतबार असार २८, २०८३/ Sunday 07-12-26

काठमाडौं। फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएसँगै विश्वकपको सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो।

अब पहिलो सेमिफाइनलमा साविक उपविजेता फ्रान्स र स्पेन आमनेसामने हुनेछन्। यो खेल बुधबार नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

विश्वकप इतिहासमा फ्रान्सले दुई पटक (सन् १९९८ र २०१८) उपाधि जितिसकेको छ भने स्पेनले सन् २०१० मा पहिलोपटक विश्वकप ट्रफी उचालेको थियो।

दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनाले इङ्ल्यान्डको सामना गर्नेछ। यो खेल बिहीबार नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ।

अर्जेन्टिना विश्वकपको तीन पटकको विजेता हो। उसले सन् १९७८, १९८६ र २०२२ मा विश्वकप उपाधि जितेको थियो। यता इङ्ल्यान्डले सन् १९६६ मा घरेलु मैदानमा विश्वकपको उपाधि हात पारेको थियो।

विश्वकप २०२६ को सेमिफाइनलमा पुगेका चारै टोलीले कम्तीमा एकपटक विश्वकप उपाधि जितिसकेका छन्। अब यी चार पूर्वविश्व विजेता टोलीबीचको प्रतिस्पर्धाले नयाँ विश्व च्याम्पियनको बाटो तय गर्नेछ।

 

तपाईको प्रतिक्रिया