काठमाडौं। एसीसी महिला यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। मलेसियास्थित वाईएसडी यूकेएम ओभल मैदानमा आइतबार सम्पन्न खेलमा नेपाली यू–१९ महिला क्रिकेट टोलीले सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
नेपालले प्रस्तुत गरेको २०० रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रनमै समेटियो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित २० ओभरमा बिना विकेटको क्षतिमा १९९ रनको विशाल योगफल तयार पारेको थियो। नेपालका ओपनर सना प्रविण र सावित्री धामीले अविजित रहँदै शानदार साझेदारी गरे। सना ९८ रनमा र सावित्री ७४ रनमा नटआउट रहिन्।
२०० रनको लक्ष्य पछ्याएको सिंगापुर सुरुआतदेखि नै नेपाली बलरको दबाबमा परेको थियो। उसका लागि अङ्किता वर्षा राजले ४९ बलमा १९ रन र ध्वनि प्रकाशले ८ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। सिंगापुरका तीन ब्याटर शून्य रनमै आउट भए।
नेपालका लागि अनु कडायतले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा केवल ४ रन खर्चेर ३ विकेट लिइन्। उनले आफ्नो स्पेलमा २० डट बल समेत फ्याँकिन्। त्यस्तै मनीषा उपाध्याय र रिया शर्माले समान २–२ विकेट लिए भने सोनी पाख्रिनले १ विकेट हात पारिन्।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई १०५ रनले पराजित गरेको थियो। समूह ‘डी’ मा रहेको नेपालले अब मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
तपाईको प्रतिक्रिया