काठमाडौं । कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर बाढीले डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्वासी परिवारलाई सरकारले भक्तपुर स्थानान्तरण गरेको छ।
बागमती नदी किनारका बस्ती जोखिममा रहेको भन्दै गत वैशाख १२ गतेदेखि सरकारले बल प्रयोग गरी सुकुम्वासी बस्ती हटाएर उनीहरूलाई अस्थायी रूपमा उक्त होल्डिङ सेन्टरमा राखेको थियो। प्रारम्भमा १५ दिनका लागि व्यवस्था गरिएको भए पनि दुई महिनासम्म स्थायी व्यवस्थापन हुन नसक्दा सुकुम्वासीहरू थप समस्यामा परेका छन्।
केही दिनअघि परेको अविरल वर्षापछि होल्डिङ सेन्टरमै बाढी पसेर त्यहाँ रहेका अधिकांश परिवारको घरायसी सामग्री, लत्ताकपडा तथा दैनिक उपभोगका सामान पूर्ण रूपमा नष्ट भएका छन्। मध्यराति अचानक पानी पस्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सार्नसमेत नपाएको पीडितहरूले बताएका छन्।
डुबानपछि सुरक्षाकर्मीले डुङ्गाको सहायताले उद्धार अभियान सञ्चालन गरेका थिए। उद्धार गरिएका १५४ जनामध्ये ५४ जनालाई त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा सारिएको थियो। अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् भने ९४ जनाले तत्काल अन्यत्र जान अस्वीकार गरेका थिए।
बाढीपछिको जोखिमलाई मध्यनजर गर्दै सरकारले सुन्दरीघाट होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ जनालाई भक्तपुरको खरिपाटीमा स्थानान्तरण गरेको छ। शनिबार र आइतबार बिहान गरी दुई चरणमा उनीहरूलाई खरिपाटी पुर्याइएको हो। केही सुकुम्वासीलाई भने भक्तपुरको बोडे क्षेत्रमा समेत सारिएको सरकारी स्रोतले जनाएको छ।
डुबानका कारण अधिकांश सुकुम्वासी अहिले न्यूनतम आवश्यक सामग्रीसमेत गुमाएर कठिन अवस्थामा रहेका छन्। उनीहरूका लागि दीर्घकालीन आवास र पुनःस्थापनाको व्यवस्था गर्न सरकारमाथि दबाब बढिरहेको छ।
तपाईको प्रतिक्रिया