सोमबार २९ असार २०८३
समाज

विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो

आइतबार असार २८, २०८३/ Sunday 07-12-26

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा आयोजना गर्न खोजेको कार्यक्रम प्रहरीले रोकिदिएको छ।

झापाबाट काठमाडौँ आएका प्रसाईंले नागरिक बचाउ महाअभियानको ब्यानरमा त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको विषयमा बोल्ने कार्यक्रम तय गरेका थिए। यसका लागि समर्थक तथा अभियन्ताहरूलाई आन्तरिक टर्मिनलमा उपस्थित हुन आह्वानसमेत गरिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार विमानस्थल क्षेत्र निषेधित भएकाले त्यहाँ कार्यक्रम गर्न अनुमति दिइएको थिएन। उनका अनुसार पोस्टरसहित कार्यक्रमको तयारी भइरहेको जानकारी पाएपछि प्रहरी टोलीले हस्तक्षेप गर्दै कार्यक्रम हुनबाट रोकेको हो।

प्रहरीले कार्यक्रम रोकिएपछि प्रसाईंलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको निवाससम्म पुर्‍याएर छाडेको जनाएको छ।

यसअघि पनि प्रसाईं सार्वजनिक शान्तिविरुद्धको कसुरमा पटक–पटक पक्राउ परेर छुट्दै आएका छन्। जेनजी आन्दोलनपछि उनी हालसम्म छ पटक पक्राउ परिसकेका छन्।

तपाईको प्रतिक्रिया