सोमबार २९ असार २०८३
राजनीति

प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान

शनिबार असार २७, २०८३/ Saturday 07-11-26

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका तीन जनाविरुद्ध प्रमाणसहित उजुरी दिन सार्वजनिक आह्वान गरेको छ।

समितिले शनिबार सूचना जारी गर्दै संवैधानिक परिषद्बाट सिफारिस गरिएका उम्मेदवारहरू नियुक्तिका लागि उपयुक्त नरहेको ठोस आधार, प्रमाण वा जानकारी भए १० दिनभित्र समितिमा उजुरी दर्ता गर्न आग्रह गरेको हो।

सूचनाअनुसार प्रमुख निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका मानबहादुर कार्की (मोरङ) तथा निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका डा. राजीव सुब्बा (काठमाडौं) र गुरुप्रसाद वाग्ले (ओखलढुंगा) विरुद्ध उजुरी दर्ता गर्न सकिनेछ।

समितिले उजुरी नेपाली वा अंग्रेजी भाषामा पेश गर्न सकिने जनाएको छ। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, सम्पर्क नम्बर तथा जिल्ला स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, उजुरीसँग सम्बन्धित आधार, प्रमाण र आवश्यक कागजातहरूको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

उजुरी सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सचिवालयमा सिधै बुझाउन वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत कुनै दस्तुर नतिरी पठाउन सकिने समितिले जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। अब उनीहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

 

तपाईको प्रतिक्रिया