निर्वाचन आयोगको कार्यवाहक प्रमुखमा डा. जानकीकुमारी तुलाधर नियुक्त
काठमाडौँ । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ६५ वर्षे उमेर हदका कारण असार २३ गतेदेखि अवकाशमा गएपछि आयोगको वरियताअनुसार उक्त जिम्मेवारी डा. तुलाधरलाई हस्तान्तरण भएको हो।
यसअघि भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। पाँच सदस्यीय संवैधानिक आयोगका रूपमा रहेको निर्वाचन आयोगमा हाल डा. तुलाधरसहित आयुक्त सगुनशमशेर जबरा मात्र कार्यरत छन्।
यसअघि तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल २०८२ वैशाख ५ गते समाप्त भएको थियो भने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल २०७९ फागुन ४ गते नै अवकाशमा गइसकेका थिए। आयोगका रिक्त पदहरू अझै पूर्ण रूपमा पूर्ति हुन सकेका छैनन्।
उता, संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ।
संवैधानिक परिषद्ले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्त पदका लागि सिफारिस गरेको छ। सुनुवाइ प्रक्रिया पूरा भएपछि नियुक्तिको औपचारिक प्रक्रिया अगाडि बढ्नेछ।
तपाईको प्रतिक्रिया