काठमाडौँ । इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा नर्वेमाथि रोमाञ्चक पुनरागमन गर्दै २–१ को जित निकालेको छ। अतिरिक्त समयमा निर्णायक गोल गर्दै इंग्ल्यान्डले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
मियामी स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नर्वेले पहिलो गोल गर्दै अग्रता बनाएको थियो। खेलको ३६औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डको उत्कृष्ट पासलाई एन्ड्रियास सेल्डरअपले सदुपयोग गर्दै गोल गरेपछि नर्वे १–० ले अघि बढेको थियो।
तर पहिलो हाफको इन्जुरी समय (४५+२ औँ मिनेट) मा एन्थोनी गोर्डनको पासमा जुड बेलिङ्घमले आकर्षक गोल गर्दै इंग्ल्यान्डलाई १–१ को बराबरीमा फर्काए। त्यसपछि दुवै टोलीले दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समय सुरु भएको केही क्षणमै, ९३औँ मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए। त्यसपछि बाँकी समयमा नर्वेले बराबरी गर्ने प्रयास गरे पनि इंग्ल्यान्डको रक्षापंक्तिलाई भेद्न सकेन।
यस जितसँगै इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ भने नर्वेको उपाधि यात्रा क्वार्टरफाइनलमै समाप्त भएको छ।
तपाईको प्रतिक्रिया